इलाम, ९ जेठः आज २३ औं अन्तराष्ट्रिय जैविक विविधता दिवस । जैविक विविधताका मुद्धाप्रतिको बुझाई र सचेतना बृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ । परापूर्वकालदेखि नै नेपाली सनातन परम्पराले विभिन्न वनस्पति तथा प्राणीलाई विभिन्न भगवानका रूपमा आस्था राखी पूजा गर्दै आएको छ । विशेष गरीकन हिन्दु धर्मावलम्बीले वर, बेल, रुद्राक्ष र अशोकलाई भगवान् शिव, पीपल र बाबियोलाई भगवान् विष्णु, शमी र दुबोलाई गणेश, तुलसी र अमलालाई लक्ष्मी, कुश र पलाँसलाई ब्रह्मा अनि खयरलाई अग्निका रूपमा स्विकारेको देखिन्छ ।
त्यसै गरी किरात–मुन्धुमलाई त पूर्ण रूपमै भूमि तथा जैविक विविधता पुजारीकै रूपमा लिएको पाइन्छ । जैविक परम्परा त भगवान् बुद्धले बुद्धत्व प्राप्ति गरेको वृक्षकै वरिपरि घुमेको छ । कुरान तथा बाइबल समेत वन, वनस्पति तथा जैविक विविधताप्रति सामीप्य राख्छन् । कानुनत नेपालमा भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार ब्याख्या गरिदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
मान्छे स्वभावले नै विविधता मन पराँउदछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाउँ, घर अनि खाना मनपर्दछ, नयाँ कुराहरु गर्न रुचाँउदछ अनि नयाँपन विविधताले गर्दा मात्र सम्भव छ । भुपरिवेष्ठित देशका मान्छे समुन्द्र देख्दा रमाउँदछन अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाउँदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मान्छे भित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । अरबको मरुभुमिमा बसोवास गर्ने मान्छे हिमाल हेर्न नेपाल आउँदछ, विश्वभरिका मान्छे सगरमाथा, यहाँका जैविक विविधता, प्रकृति, वनस्पति, जनावर, चराहरु आदी हेर्न नेपाल आउँछन र यदि नेपालसँग यी जैविक र भौगोलिक विविधता नहुने भए यहाँ पर्यटकहरु आउँदैन थिए पनि होला । तसर्थ पनि जैविक विविधतालाई पर्यटनसँग जोडेर हेरिन्छ । पर्यटकिय रुपमा अत्यन्त सम्भावना भएको हाम्रो देश विश्वमै २५औं स्थानमा छ । यहाँ छोटो दुरिमा धेरै भौगोलिक संरचना, भिन्नभिन्न मौसम एवम भीर, पहरा, गल्छी र उपत्यकाहरु छन् । पहाड र हिमाली क्षेत्रमा उत्तरदक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घामलाग्ने र अर्कोतिर ओसिलो हुन्छ ।