९ असार, इलाम: समाजसेवी सुमन श्रेष्ठ र निर्देश राईले जेठ ९ गतेदेखि एक महिनासम्म एकसय १२ जना कोरोना संक्रमितको उद्धार गरेका छन् । इलाम जिल्लाभरका गरिव तथा असाह्य एकसय १२ जना संक्रमितलाई घरबाट अस्पताल तथा अस्पतालबाट डिस्चार्ज भएपछि घरसम्म समाजसेवी जोडीले निशुल्क पु¥याइदिएका हुन् । श्रेष्ठ र राईले आफ्नो निजी खर्चमा सो परोपकारी कार्य गरेका हुन् । अस्पताल जान नसकेर घरमै छटपटाइरहेका कोरोना संक्रमितहरुमध्ये माई जोगमाई गापाका राम राई (नाम परिवर्तन)ले भने, ‘हामी परिवारका ४ जना लाई कोरोना लागेको थियो, अस्पताल पुगेर बाचिन्छ भन्ने पनि लागेको थिएन । वहाँहरु आएर हाम्रो उद्धार गर्नुभयो ।’ उनले थपे, ‘वहाँहरु नआउनुभएको थियो भने त यसरी अहिलेसम्म के बाचिन्थ्यो होला र सर ।’
सो टीमले इलामको विभिन्न स्थानबाट इलामका अस्पतालहरु र झापाका अस्पतालहरुसम्म सेवा दिएका थिए । कोरोना विरुद्धको खोप सम्म नपाएका सुमन श्रेष्ठ, चालक रमेश श्रेष्ठ आफै विरामीको घरसम्म पुगेर जोखिम मोल्दै संक्रमितको उद्धार गरेका थिए । एक महिनासम्म सेवा दिएका श्रेष्ठले आजेदखि सो अभियान सम्पन्न भएको जानकारी दिए । गत बर्षको लकडाउनमा दुखीगरीबलाई खाना खुवाउने सत्कर्म पनि सुमन श्रेष्ठ र देवी पौडेलको टिमले गरेका थिए ।