इलाम, २३ वैशाखः मौसम तथा जलवायु विभागले अब नेपालमा पनि चट्याङ पर्ने स्थान र समयको पुर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आगामी वर्षायामदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी भइरहेको जानकारी दिएका छन् । विभागले यसअघि वर्षा, हावाहुरी, बाढी तथा पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको थियो । चट्याङ पर्ने समयमै सही सूचना प्रवाह गर्न सके यसबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताएका छन् । ‘चट्याङबाट हरेक वर्ष एक सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ’, सरोकारवालासँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, ‘समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।’ उनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकाले सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाए ।
यता जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताए । ‘अरु देशहरुमा यो प्रविधि अहिले पनि छ’, उनले भने, ‘अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौं ।’ उनले नेपालको चुरे पहाड क्षेत्र चट्याङको बढी जोखिममा रहेको उल्लेख गरे । तयारी सकिएपछि विभागले ३ घण्टा अगावै चट्याङपर्ने स्थान र समय सार्वजनिक गर्नेछ ।